काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अंकले घटेको छ । सेयर बजार ७.८६ अंकले घटेर २६०६ अंकमा ओर्लएको हो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य खुम्चिएको छ । मंगलबार ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको सेयर किनबेच भयो ।
बजारमा उतारचढाव कायमै रहँदा कारोबार भएका कम्पनीमध्ये अधिकांशको मूल्य ओरालो लाग्यो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारमा आएका सबै उपसमूहका सूचकहरू घटेका छन् । यद्यपि, कुनै पनि उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा माथि पुगेन । बैंकिङ उपसमूह ०.०५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर ०.६६ प्रतिशत, वित्त ०.५७ प्रतिशत र निर्जीवन बिमामा ०.३५ प्रतिशतको गिरावट देखियो ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेको छ । एसवाई प्यानलले आजबाटै कारोबार सुरु गरेको हो । यसैगरी, लक्ष्मी लघुवित्तको मूल्य ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको मूल्य ७.१४ प्रतिशतले बढ्यो ।
सर्वाधिक मूल्य गुमाउनेमा झापा इनर्जी रह्यो । यसको मूल्य ९.३० प्रतिशतले घटेको छ । यस्तै, हिमस्टार ऊर्जा कम्पनीको ५.०५ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ४.५९ प्रतिशत तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत घटेको छ ।

































