पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग गर्छौ : मन्त्री देवकोटा

पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग गर्छौ : मन्त्री देवकोटा

काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र-बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए ।

उनले भने ‘आवश्यकताअनुसार एक वर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ । भएका विकृति विसंगति कम गर्दै सुधार गर्दै जानुपर्छ । बस्ती विकासमा पालिकाको भूमिका नै महत्वपूर्ण हुन्छ ।’

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले शहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै शहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । जेजे पूर्वाधारको अभाव छ त्यो निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको सुझाब छ ।

‘बनाएका योजना दराजमा धन्क्याएर हुँदैन । कार्यान्वयन गरिहाल्नुपर्छ । बस्ती विकासका सवालमा हामी असफल भएका छौँ ।’ उनले भने ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फोहोर व्यवस्थापनको सवालमा धारणा राखे । आफ्नो नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उचित ठाउँ प्रशस्तै भएकाले अन्य पालिकालाई पनि सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे ।

उनले भने ‘उचित ठाउँ हेरेर छलफल गरौँ । सरसफाईका लागि स्थानीयलाई पनि स्पष्ट पार्नुपर्छ । विज्ञहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न सकिन्छ । यसका लागि दक्षिणकालि नगरपालिकामै सबै बसेर छलफल गरौँ भन्ने प्रस्ताव राख्दछु ।’

त्यसैगरी इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने स्पष्ट पारे । आफूले अध्यक्ष जितेर आएपछि तीन वर्ष भइसक्दा पनि उचित बजेटको अभावमा ठोस र मूर्त काम देखाउन नसकेको उनको स्वीकारोक्ति छ ।

उनले भने ‘स्थानीय स्रोत साधन छैन, संघीय समानिकरण र राजश्व बाँडफाडको भरमा के नै गर्न सकिन्छ र ?’

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि त्रिपुरासुन्दरी गाउँपालिकामा बस्ती विकासको योजना बने पनि प्रभावकारी बन्न नसकेको बताए । उनले भने ‘देशकै ठूलो टार छ, भूगोल ठूलो छ, तर भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त छ ।’

खाँडादेवी गाउँपालिका, रामेछापका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँमा मान्छे बस्नै छाडेको भन्दै चिन्ता व्यक्त गरे । अव्यवस्थित बसोबासका कारण गाउँहरु संकटमा परेको उनको भनाइ छ ।

Tokha