काठमाडौं । बाराको सिमरामा बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार जहाज अवतरण हुन नदिन युवाहरू सडकमा उत्रिएपछि क्षेत्र तनावग्रस्त बनेको छ ।
काठमाडौंबाट उडान भर्न तयारी अवस्थामा रहेको बुद्ध एयरको विमान आन्दोलनका कारण रोकिएको छ । विमानस्थल परिसरमा एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपपछि सिमरा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो ।
एमाले महासचिव पोखरेल र नेता बस्नेत सिमरा आउने कार्यक्रम रहेको सूचना सार्वजनिक भएपछि उनीहरूको स्वागतका लागि एमाले समर्थकहरू विमानस्थल गेटमा जम्मा भएका थिए । सोही समयमा विरोधका क्रममा जेनजी समूह पनि त्यहीँ पुगेपछि स्थिति बिग्रिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
दुवै पक्षबीच तनाव बढेपछि प्रशासनले सुरक्षा व्यवस्था कडाइ गर्दै विमानस्थलमा आवत-जावत रोकिएको जनाएको छ।
































