काठमाडौं। सोमबार सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । अघिल्लो दिनको तुलनामा नेप्से ५.८ अंक घटेर २५६० अंकमा झरेको हो ।
कारोबारको सुरुवातमा नेप्से बढेको थियो र बिहान ११:३७ बजे अधिकतम २५७६ अंकमा पुगेको थियो । तर त्यसपछि बजार ओरालो लाग्दै दिउँसो २:३१ बजे न्यूनतम २५४४ अंकमा झरेको थियो । साढे १ बजेपछि मात्रै बजारले केही स्थिरीकरण पाए पनि अघिल्लो दिन नेप्से ३० अंकले घटेको थियो ।
आज ९१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकमा होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले बढेको छ भने व्यापार ०.५५ र लगानी ०.१० प्रतिशतले उक्लिएका छन्। बाँकी सबै समूहको सूचक घटेको छ।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५१ करोडमा सीमित रह्यो।
बैंकिङ समूह ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बिमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०।०८, निर्जीवन बिमा ०.४१ र अन्य समूह ०.२९ प्रतिशतले घटेका छन्।
सो दिन पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन्। सिटी होटल बाहेक अन्य कम्पनीहरू हालै सूचीबद्ध भएका नयाँ कम्पनीहरू हुन्।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ। रुरु जलविद्युतको मूल्य ८.४५, धौलागिरी लघुवित्तको ५.६६ र उपकार लघुवित्तको ५.६३ प्रतिशतले घटेको छ।

































