काठमाडौं । लगातार घट्दै आएको सुनको मूल्य बुधबार फेरि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार १ सय कम हो।
मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ४ सयले घटेको थियो। यससँगै दुई दिनको अन्तरालमा सुनको भाउ कुल २ हजार ५ सयले घटिसकेको छ।
असोज ३१ गते प्रतितोला २ लाख ५८ हजारको रेकर्ड बनाएको सुन अहिले त्यसभन्दा २० हजार ८ सयले सस्तो भएको छ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १५ रहेको चाँदी आज घटेर २ हजार ९९० मा झरेको छ। रेकर्ड मूल्यको तुलनामा चाँदी प्रतितोला ३६० ले सस्तो भएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावकै कारण नेपालमा पनि सुनचाँदीको मूल्य घटबढ भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































