अमेरिकी बजारमा पहिलोपटक नेपाली ‘फ्रोजन फ्रेन्च फ्राइज’ ५४ लाखभन्दा बढीको निर्यात

अमेरिकी बजारमा पहिलोपटक नेपाली ‘फ्रोजन फ्रेन्च फ्राइज’ ५४ लाखभन्दा बढीको निर्यात

रुपन्देही । नेपालले पहिलोपटक अमेरिकी बजारमा ‘फ्रोजन फ्रेन्च फ्राइज’ निर्यात गरेको छ। भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको फ्रोजन फ्रेन्च फ्राइज अमेरिकास्थित जेन्टको एलएलसीमा पठाइएको हो।

रुपन्देहीस्थित फूट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको दुई कन्टेनर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज भैरहवाबाट निर्यात गरेको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाउनु देशको औद्योगिक विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हो।

अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा अन्य घरेलु उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना बढाएको भन्सार कार्यालयले जनाएको छ।

भैरहवा भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा, सुविधा, सूचना पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै, निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने नीतिगत प्राथमिकता रहने समेत जनाएको छ।

Tokha