काठमाडौं । चालु वर्षको १५ कात्तिकसम्म देशभर कुल ४ हजार ५९७ विपद्जन्य घटना भएका छन्। ती घटनामा परेर अहिलेसम्म ३३५ जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा ४१ जना बेपत्ता र १ हजार २६४ जना घाइते भएका छन् । विपद्कामध्ये सबैभन्दा बढी बाढीका ३१६ घटना दर्ता भएका छन्, जसमा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् ।
त्यसैगरी, पहिरोका ५५० घटनामा ६७ जनाको मृत्यु र चार जना बेपत्ता भएका छन्। चट्याङका ३५६ घटनामा ४४ जनाले ज्यान गुमाएका छन् भने सर्पदंशका ५३८ घटनामा ९२ जनाको मृत्यु भएको छ।
जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । त्यस्तै, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ। भारी वर्षाका ४२० घटनामा सात, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
हिउँ पहिरोका कारण नौ जना बेपत्ता भएका छन् । शनिबार मात्रै देशभर ४६ वटा विपद्जन्य घटना दर्ता भएका छन्, जसले ३१ जिल्लालाई प्रभावित पारेका छन् र ती घटनामा दुई जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

































