काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार करिब ४० अंकले बढेको छ । नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६०० अंकमा उक्लिएको हो । बजार खुले सँगै उकालो लाग्न थालेको नेप्से दिनभर हरियाली रह्यो । आज २३७ कम्पनीको मूल्य बढ्यो भने १८ कम्पनीको घट्यो २ कम्पनीको स्थिर रह्यो ।
आज कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ।
लगानी र जीवन बिमा समूह २ प्रतिशतभन्दा बढीले वृद्धि भए । बैंकिङ १.३६, विकास बैंक १.८४, वित्त १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत १.३३, लगानी २.०३, जीवन बिमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, लघुवित्त १.८३, निर्जीवन बिमा १.९९ र व्यापार समूह ०.२५ प्रतिशतले बढेका छन् ।
आज सागर सिस्टिलरी, बन्दीपुर केबुलकार र झापा इनर्जीमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वस्तिक लघुवित्त ८.१९, छ्याङ्दी हाइड्रोपावर ६.२९, जोशी हाइड्रोपावर ५.९३ र समता घरेलु लघुवित्त ४.९७ प्रतिशतले बढेका छन्।
विपरित तर्फ, पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.६५ प्रतिशत घटेको छ । मोदी इनर्जी ४.४९, सप्तकोशी विकास बैंक ४.४७ र सिन्धु विकास बैंक ४.१८ प्रतिशतले घटेका छन्।

































