काठमाडौं । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्याको आरोपमा प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ। यस घटनाको अनुसन्धानलाई जिल्ला प्रहरी परिसर काठमाडौंले तीव्र पारेको छ।
पछिल्लो पटक पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि यस हत्याकाण्डमा संलग्न चार जनालाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । असई रायको हत्याको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विकलाई ‘कर्तव्य ज्यान’ र ‘आपराधिक उपद्रव’ मुद्दामा कारागार चलान गरिएको थियो।
यसैगरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका-९ का २८ वर्षीय युवराज क्याप्छा र मकवानपुरको थाहा-७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई पनि पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइसकेको छ।

































