काठमाडौं । तिहार सकिएसँगै आइतबार पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन तिहारअघिको तुलनामा ११ हजार ६ सय रुपैयाँले कम हो ।
तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सार्वजनिक बिदाका कारण मूल्य समायोजन ढिलो हुँदा नयाँ दर आइतबारदेखि मात्रै लागू भएको हो ।
त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार १५ रुपैयाँ पुगेको छ, जुन तिहारअघिको मूल्यभन्दा २६५ रुपैयाँले कम हो । असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो ।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो मंगलबार १२ वर्षयताकै ठूलो गिरावट आएको थियो । ‘द फाइनान्सियल टाइम्स’का अनुसार त्यसदिन सुनको मूल्य प्रतिऔंस ४,०८२ अमेरिकी डलरसम्म झरेको थियो, जुन सन् २०१३ यताकै सबैभन्दा ठूलो दैनिक गिरावट हो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको छ ।

































