काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य शुक्रबार उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ५० हजार ९ सय रुपैयाँ भन्दा ७ हजार १ सय रुपैयाँले बढी हो।
भदौ महिनाभर नेपाली बजारमा सुनको मूल्यमा निरन्तर बढोत्तरी देखिएको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो, जसको आधारमा पछिल्लो एक महिनामा सुनको मूल्य ४३ हजार रुपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले यसको प्रभाव नेपालमा पनि परेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर आसपास पुगेको छ । एक औंस बराबर करिब २.४३ तोला हुन्छ।
साथै, चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको ३ हजार २ सय ७५ रुपैयाँ भन्दा ७५ रुपैयाँले बढी हो ।

































