काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गरेको छ । भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि विकसित घटनाक्रमको सेरोफेरोमा उद्योगीको अवस्थाबारे बुझ्न र हाल भोगिरहेका समस्याबारे जानकारी लिन नगरपालिकाले सोमबार अन्तर्क्रिया गरेको हो ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले जेन-जी आन्दोलनको भोलिपल्टको विध्वंशात्मक गतिविधिले देश २० वर्ष पछाडि धकेलिएको बताए । ‘जेन-जी आन्दोलनको भोलिपल्ट जुन विध्वंश मच्चियो, मच्चाइयो, त्यसले देश २० वर्ष पछाडि धकेलिएको छ भने पाँच वर्षको राष्ट्रिय बजेटबराबरको रकम स्वाहा भएको छ,’ उनले भने, ‘तिहारपछि फेरि आन्दोलन भनेको सुनिँदैछ, त्यो के का लागि हो रु यस्ता गतिविधिले देश जति पछाडि पर्छ, उति हाम्रो थाप्लोमा ऋण थपिन्छ ।’
स्थानीय तहको पहिलो निर्वाचत २०७४ यता नगरपालिकाले धेरै काम गरेको उनले बताए । ‘तर जबसम्म आफ्नो घर, आफ्नो नगर र आफ्नो समाजमा चेतना जगाउन सकिँदैन, तबसम्म गरेको कामबाट पनि कुनै लाभ मिल्दैन, विकासले पनि गति लिँदैन,’ नगरपालिकाले रोपेका बिरुवा उखालिएको, भाँचेको तथा कन्भेक्स मिरर चोरेको उदाहरण दिँदै प्रमुख अधिकारीले भने, ‘त्यस्ता सार्वजनिक सम्पत्ति मेरा पनि हुन् भन्ने नबुझएसम्म देश विकास सम्भव देखिएन ।’

उनले सीपमूलक तालिम लिएका नगरबासीले प्रमाणपत्र सिरानीमुनि राखेर सुत्ने गरेको भन्दै चिन्ता प्रकट गरे । ‘नगरपालिकाले हजारौंलाई सीपमूलक तालिम दिएको छ तर उनीहरु प्रमाणपत्र सिरानीमुनि हालेर बसेका छन्,’ उनले भने, ‘हामीले रोजगारी र आयआर्जनसँग जोड्न लाखौं रुपैयाँ खर्च गरेका हौँ तर त्यसको उपादेयता खोई ?’ ४२ जनाले होमस्टे तालिम लिएकोमा तीन जनाले मात्र होमस्टे चलाएको र बाँकी सम्पर्कमै नरहेको उदाहरण उनले दिए । त्यस्तै नगर उपप्रमुख अनिता लामाले राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण देशवासीको योगदान, स्वामित्व र अधिकार रहेको बताइन् । ‘हामीले लगानी गर्ने श्रम, समय र पैसाले नै अर्थतन्त्रको विकास हुने हो,’ उनले भनिन्, ‘त्यसकारण सबै मानिस उत्पादन र रोजगारीसँग जोडिनसके मात्र आर्थिक उन्नति हुनसक्छ ।’
नगरपालिकाले उद्योगी, व्यवसायीकै सुझाव र छलफलअनुसार योजना निर्माण गर्ने उनले जानकारी गराइन् । ‘तर उद्योगीले व्यापार गरेर हुँदैन, उद्योग नै चलाउनुपर्छ, उत्पादन गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, त्यसले मात्र कुल गार्हस्थ्य उत्पादनमा ठुलो योगदान दिन सक्छ,’ उपप्रमुख लामाले भनिन्, ‘हामी उद्यम र उद्यशीलताभन्दा बाहिर गएर केही सोच्न सक्दैनौँ ।’
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले उद्योगी व्यवसायीलाई मर्यादित भएर व्यवसाय गर्न सुझाव दिए । ‘हामीले मर्यादित भएर पारदर्शी ढंगले आफ्ना कारोबारहरु गर्नुपर्छ,’ उनले भने, ‘नगरपालिका र उद्योगी व्यवसायीबीच कुनै समस्या हुनु हुँदैन ।’

उनले एउटा सिमेन्ट उद्योगबाट २ हजारभन्दा बढी घरधुरी र एउटा पाँचतारे होटलबाट पनि त्यति नै संख्यामा मानिसहरु लाभान्वित हुने तथ्यांक प्रस्तुत गरे । उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न नगरपालिकालाई सुझाव दिए । त्यस्तै पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गरे । कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गरिन् ।
पर्यटन व्यवसायी दीप थापाले नगरका सम्पूर्ण व्यवसायको तथ्यांक लिएर सबैलाई करको दायरामा ल्याउनुपर्ने सुझाव दिए । अल्लो व्यवसायी खडक बोगटीले नगरपालिकाले नीति बनाएर अल्लो र गाँजाबाट बनेका स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने धारणा राखे । महिला उद्यमी रेखा शर्मा चौधरीले नगरपालिकासँग नीतिगत सहजताको माग गरिन् ।

अन्तर्क्रियामा सहभागी अन्य उद्योग, होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीले राम्रा सडक तथा फुटपाथ, सुरक्षाका लागि सिसी क्यामेरा, सडक बत्तीलगायतमा ध्यान दिन नगरपालिकालाई सुझाव दिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यवसायी एवं सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

































