काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३ अंकमा ओर्लिएको छ । कारोबारको क्रममा दिउँसो १:०८ बजे नेप्से २४९३ अंकसम्म झरेको थियो, जुन यस दिनको न्यूनतम बिन्दु हो ।
परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार बढेर ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।
बजारमा कारोबार भएका सबै उपसमूहका सूचक घटेका छन् । कुल २४२ कम्पनीको मूल्य घट्दा जम्मा ९ कम्पनीको मात्रै मूल्य बढेको छ ।
सबैभन्दा धेरै गिरावट आउनेमा होटल तथा पर्यटन समूह ४.८४ प्रतिशत र अन्य समूह ४.७९ प्रतिशत रहेका छन्।
प्रमुख समूहहरूमा बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बिमा २.५५, माइक्रोफाइनान्स २.८८, निर्जीवन बिमा २.३२ र व्यापार २.८५ प्रतिशतले घटेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशतले बढ्यो । पन्चकन्या माइ हाइड्रोपावर ४.९०५ र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १.८९५ को मूल्य पनि बढेको छ।
बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशतले घट्यो । नेपाल पुनर्बीमा ९.१५५, राधि विद्युत ८.५०५, सीईडीबी होल्डिङ्स ८.४५५ र विन्ध्यबासिनी हाइड्रोपावर ८.२७५ ले पनि धेरै गुमाए।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स रहेका छन्।

































