काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ (साधारण सेयर) को बाँडफाँट आइतबार सम्पन्न भएको छ।
कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यस सेयरमा कुल २२ लाख २७ हजार ५ सय ३ आवेदन आइपुगेका थिए।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार, आवेदन दिने कुल लगानीकर्तामध्ये २१ लाख ९३ हजार ८ सय २३ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
आईपीओको माग अपेक्षाभन्दा बढी परेकाले कम्पनीले गोलाप्रथा मार्फत बाँडफाँट प्रक्रिया गरेको हो। नतिजाअनुसार, १ लाख १९ हजार ६४ लगानीकर्ताले १० कित्ताका दरले सागर डिस्टिलरीको सेयर प्राप्त गरेका छन्।
लगानीकर्ताले सीडीएससीको आईपीओ रिजल्ट मार्फत आफ्नो सेयर प्राप्ति विवरण जाँच गर्न सक्नेछन्।

































