काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको हो । यससँगै कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको छ । अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको मात्र कारोबार भएको छ।
आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ, लगानी र व्यापार समूहमा थोरै सुधार भए पनि विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन लगायतका सेक्टरमा गिरावट देखियो ।
सबैभन्दा बढी मूल्य बढ्ने कम्पनी हिमस्टार ऊर्जा १० प्रतिशतले बढेको छ। कालिका पावर ६.७२ र गुराँस लघुवित्त ६.२९ प्रतिशतले बढेका छन् । मूल्य सबैभन्दा धेरै घट्ने कम्पनी सिटी होटल ७.५५ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक रहेका छन् । लगानीकर्ताहरूले दशैंअघि सेयर खरिद र बिक्रीमा कम चासो देखाउँदै बजारमा अपेक्षाकृत कम सक्रियता देखाएका छन्। दशैंअघि आइतबार मात्र सेयर कारोबार हुने छ ।

































