जेन-जी आन्दोलनमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

जेन-जी आन्दोलनमा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको छ । काठमाडौंको इन्द्रचोकमा संघका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, व्यवसायी एवं स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा बुधबार साँझ दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बौद्ध दर्शनअनुसार दिवंगत भएकाहरुको चिरशान्तिको कामना गर्दै ‘दुर्गति परिशोधन धारणी’ वाचन गरिएको छ । ‘ओं नम: सर्वदुर्गतिपरिशोधनराजाय तथागतायार्हते सम्यक् सम्बुद्धाय ।।तद्यथा।। ओं शोधने शोधने सर्वपाप विशोधने शुद्धे विशुद्धे जेन्जी आन्दोलन क्रमय: सर्व दिवंगतानाम् सर्वकर्मावरण विशुद्धे स्वाहा !’ मन्त्र सात पटक वाचन गरिएको हो ।

त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘ॐ नमो भगवते अपरिमितायुर्ज्ञान सुविनिश्चित तेजोराजाय तथागतायार्हते सम्यक्संबुद्धाय ।। तद्यथा ।। औं पुण्ये पुण्ये महापुण्ये अपरिमितपुण्ये अपरिमतपुण्यज्ञान संभारोपचिते ओं सर्वसंस्कार परिशुद्धे धर्मते गगतसमुद्गते स्वभावविशुद्धे महानय परिवारे स्वाहा ।।’ अपरिमितायु धारणी मन्त्र पनि सात पटक वाचन गरिएको छ ।

बौद्ध दर्शनअनुसार यसरी मन्त्र वाचन गर्नाले दिवंगत भएकाहरुको चिरशान्ति प्राप्त हुनुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभ हुने विश्वास रहेको संघका उपाध्यक्ष दशरत्न बज्राचार्यले बताए । संघका अध्यक्ष रोहिनादेवी शाक्यले कविता वाचन गर्दै युवाहरुको हत्याको विरोध गरिन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष एवं काठमाडौं सुनचाँदी व्यवसायी संघका सल्लाहकार दिनेश श्रेष्ठ, सल्लाहकार विजय कायस्थ, सल्लाहकार पवित्र बज्राचार्य, सल्लाहकार देवरत्न शाक्य, कानुनी सल्लाहकार ज्ञानरत्न शाक्य, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार तेजरत्न शाक्यलगायतको पनि सहभागिता थियो ।

Tokha