काठमाडौं । राजधानीमा चर्किएको जेनजी आन्दोलनका बीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्र थप विस्तार गरेको छ।
यसअघि बानेश्वर-तीनकुने वरिपरिको क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अहिले शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय, लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार परिसरसम्म विस्तार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म तोकिएको क्षेत्रमा कर्फ्यु जारी रहनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९क० बमोजिम जारी आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्णतः निषेध गरिएको छ।
कर्फ्यु लागू हुने क्षेत्र
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।
सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र नेतामाथि बढ्दो भ्रष्टाचारका आरोपविरुद्ध जेनजी पुस्ताले देशव्यापी आन्दोलन चर्काइरहेका छन्। राजधानीमा सोमबार दिउँसोदेखि विरोध प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि प्रशासनले थप सुरक्षा कदमस्वरूप कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनले कर्फ्यु आदेशलाई कानुन पालना र शान्ति-सुरक्षाका लागि अपरिहार्य भएको जनाएको छ।

































