काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ९.१६ अंकले बढेर २,७७०.३९ विन्दुमा उक्लिएको हो ।
हालैको उच्च विन्दुबाट करिब १० प्रतिशतले घटिसकेको नेप्से फेरि उकालो लाग्ने संकेत देखिएको हो । नेप्से यसअघि ३,०२८ विन्दुमा पुगेको थियो भने झरेर २,७५५ विन्दुसम्म आइपुगेको थियो ।
सूचकमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब १७ करोडमा सीमित भएको हो ।
आज ३२० कम्पनीमध्ये १९६ वटा कम्पनीको मूल्य बढ्दा ११३ वटा घटेका छन्। समूहगत सूचक हेर्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल-पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह बढेका छन् भने म्युचुअल फण्ड र ‘अन्य’ समूह घटेका छन् ।
व्यापार समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ भने अन्य समूह १५.४३ अंकले घटेको छ।
सबैभन्दा धेरै बढ्ने कम्पनी युनियन हाइड्रो पावर रह्यो, जसको मूल्य ६.१० प्रतिशतले बढेर ४०८ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी घट्नेमा सम्पदा लघुवित्त रह्यो, जसको मूल्य ४.८१ प्रतिशतले घटेर ९४२ रुपैयाँमा झरेको छ।



































