काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हरियाली देखिएको छ । बजार खुलेदेखिनै सकारात्मक ट्रेन्डमा रहँदै परिसूचक १८.३० अंकले बढेर २८५० बिन्दुमा पुगेर बन्द भएको हो ।
दिनभर बजारमा हरियाली नै देखिए पनि कारोबारको अन्त्यतिर केही बिक्री चाप देखिएको थियो, जसले नेप्सेलाई अधिक अंकमा जानबाट रोक्यो । कारोबारको क्रममा दिउँसो २:०४ बजे परिसूचक २८६१ अंकसम्म पुगेको थियो ।
कारोबारमा १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६२ कम्पनीको घटेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । बुधबार ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार यो रकम बढेर ८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
समूहगत रूपमा हेर्दा फाइनान्स समूहको सूचक सबैभन्दा बढी १.३८ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १.१२ प्रतिशत, अन्य १.०३, व्यापार ०.९९, जीवन बिमा ०.७६, हाइड्रोपावर ०.७५, होटल तथा पर्यटन ०.६०, बैंकिङ ०.४३, विकास बैंक ०.४२, निर्जीवन बिमा ०.४२ र माइक्रोफाइनान्स समूह ०.३६ प्रतिशतले उक्लिएका छन् ।
कम्पनीगत प्रदर्शनमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ९.८१ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो । त्यस्तै, बरुण हाइड्रोपावरको मूल्य ९.७८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.५६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.१९ प्रतिशत, लिबर्टी इनर्जीको ५.७२ प्रतिशत र आईसीएफसी फाइनान्सको मूल्य ४.४२ प्रतिशतले बढेको छ ।
अर्कोतर्फ, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ८.२६ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा परेको छ । त्यस्तै, समाज लघुवित्तको ५.४२ प्रतिशत, सान्भी इनर्जीको २.७१ प्रतिशत र मैलुङखोला जलविद्युतको मूल्य २.६९ प्रतिशतले घटेको छ ।

































