काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बुधबार करिब ४८ अंकले घटेको बजार आज ३१.५० अंकले घटेर २,९२२.६३ बिन्दुमा ओर्लिएको हो ।
आज कारोबार रकम पनि घटेको छ । कुल ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँमा सीमित रह्यो । अघिल्लो दिन भने १६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
फाइनान्स समूहबाहेक अन्य सबै सूचक घटेका छन् । फाइनान्स समूहमा १.१८ प्रतिशतले बढ्यो भने व्यापार समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घट्यो ।
बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, जलविद्युत १.१५, लगानी १.३२, जीवन बिमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बिमा ०.७० र अन्य समूह ०.३० प्रतिशतले घटेका छन् ।
आज ट्रेड टावर लिमिटेड, नेपाल फाइनान्स लिमिटेडमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको ९.९२, सप्तकोशी विकास बैंकको ९.८६ र सान्भी इनर्जीको ५.३९ प्रतिशत मूल्य बढ्यो भने भुगोल इनर्जीको ७.१०, माइखोला हाइड्रोपावर ५.७० र सुपर सोलु हाइड्रो ४.९४ प्रतिशत मूल्य घट्यो ।
आज सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन् ।

































