पर्सा । आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज नाका हुँदै २ हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती सवारीको कूल मूल्य १ अर्ब ६४ करोड रुपैयाँ बराबर रहेको छ भने आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरिएको छ ।
वीरगन्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार विद्युतीय सवारीको तुलनामा इन्धनचालित सवारीको आयात बढी भएको छ ।
गत वर्ष १२ करोड मूल्य बराबरका १६ थान इलेक्ट्रिक कार, जिप र भ्यान आयात भए जसबाट १९ करोड ७४ लाख राजस्व उठाइएको थियो ।
त्यसैगरी, ५१-१०० किलोवाट क्षमताका ५० थान (१३ करोड मूल्य), १०१-२०० किलोवाट क्षमताका ३६ थान (२४.८ करोड मूल्य) र २०१-३०० किलोवाट क्षमताका १६ थान (१२ करोड मूल्य) सवारी आयात भएका छन् ।
सबैभन्दा धेरै १,८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन्, जसको कूल मूल्य ४३ करोड २ लाख रुपैयाँ बराबर रहेको भन्सार कार्यालयले जनाएको छ ।

































