लगातार आठौं दिन बढ्यो सेयर बजार

लगातार आठौं दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार आठौं कारोबार दिन पनि बढेको छ । बुधबार ५.१७ अंकले बढेको बजार आज बिहीबार थप ३.७६ अंकले बढेर २९८२ अंकमा कायम भएको छ ।

बजारमा देखिएको उतारचढावसँगै कारोबार रकममा भने सामान्य कमी आएको छ । अघिल्लो दिन १९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोड रुपैयाँको मात्रै कारोबार भयो ।

आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । समूहगत रुपमा हेर्दा हाइड्रोपावर समूह सर्वाधिक २.०० प्रतिशतले बढ्यो । यसैगरी, विकास बैंक १.०६ प्रतिशत, होटल तथा पर्यटन ०.४६ प्रतिशत, लगानी ०.२५ प्रतिशत र व्यापार ०.२८ प्रतिशतले बढेका छन् ।

बैंकिङ ०.६१ प्रतिशत, फाइनान्स ०.७६ प्रतिशत, जीवन बिमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५८ प्रतिशत, माइक्रोफाइनान्स ०.२३ प्रतिशत, निर्जीवन बिमा ०.५७ प्रतिशत र अन्य समूह ०.०९ प्रतिशतले घटे ।

आजको कारोबारमा हाइड्रोपावर समूहको वर्चस्व स्पष्ट देखियो । कुल कारोबारको ४५ प्रतिशत हिस्सा ओगट्दै यस समूहमा मात्रै ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र श्वेतगंगा हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै, हिमालयन हाइड्रोपावरको ८.४१ प्रतिशत र मायाखोलाको ७.४ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्तको ३.५८ प्रतिशत र समृद्धि फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।

आज राधी विद्युतको सबैभन्दा धेरै ७७ करोड २१ लाख बराबर कारोबार भयो ।

Tokha