वासिङ्टन डिसी। विश्वका २० भन्दा बढी राष्ट्रका युवा नेताहरू सम्मिलित युवा कूटनीतिज्ञ फोरम (वाइडीएफ) मा नेपाली प्रतिनिधि विवेक पौडेलले विकासोन्मुख राष्ट्रहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को समान पहुँच र सांस्कृतिक आदानप्रदान को महत्त्वबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।
फोरमका क्रममा पौडेलले फ्लान्डर्सका प्रतिनिधि पाउल हेग, युरोपेली युनियनकी फानी लाफोर्केड र मोजाम्बिकका राजदूत अल्फ्रेडो नुभुङ्गासँग भेटवार्ता गरे। यस भेटमा नेपालमा एआई प्रविधिको न्यायोचित उपलब्धता, सांस्कृतिक सहकार्यका अवसरहरू र युवाहरूको सीप विकासमा साझेदारीका विषयमा छलफल भएको थियो।
मेरिडियन इन्टरनेसनल केन्द्रका म्याक्स बुचेटसँगको वार्तालापमा काठमाडौं, चितवन, पोखरालगायत विभिन्न नगरपालिकाका मेयरहरूलाई अन्तर्राष्ट्रिय फोरमहरूमा सहभागी गराई स्थानीय अनुभवहरू आदानप्रदान गर्ने योजना बनाइएको छ। एस्टोनियाकी डा. अन्ना-मारिया ओसुलाले नेपालमा डिजिटल प्रशासन र डिजिटल पहिचान सम्बन्धी सहयोगको सम्भावना औंल्याएकी छन्।

प्रतिनिधिमण्डलले अमेरिकी विदेश मन्त्रालयको भ्रमण गरी अमेरिकी विदेश नीति, व्यापार र बहुपक्षीय सहकार्यका बारेमा छलफल गरेको थियो। यसैगरी, विश्व बैंकको मुख्यालयको भ्रमणका क्रममा संस्थाको संरचना, कार्यप्रणाली र विकास परियोजनाहरूको विस्तृत अवलोकन गरियो। विश्व बैंकका उच्च अधिकारीहरूसँगको भेटमा विकासोन्मुख देशहरूका लागि प्रभावकारी कार्यक्रमहरूको निर्माण र कार्यान्वयनबारे विचारविमर्श गरियो।
भूराजनीतिक विशेषज्ञ जोन सिटिलिडेसले अमेरिकाको रणनीतिक अवस्थिति र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को भूमिकाको विश्लेषण गरेका थिए। साथै, कालेव लीटारु र क्रिस्टोफर पेन्टरले विकासोन्मुख राष्ट्रहरूका लागि डाटा समानता लाई प्रवर्धन गर्न अन्तर्राष्ट्रिय पहलको आवश्यकतामा जोड दिए।
अमेरिकी राज्यहरूको संगठन (ओएएस) को मुख्यालय भ्रमणका क्रममा संस्थाको संरचना र विकास कार्यक्रमहरूबारे जानकारी लिइएको थियो। नेपाली प्रतिनिधिले यस फोरमले नेपाललगायत विकासोन्मुख राष्ट्रहरूका लागि महत्त्वपूर्ण अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
































