डिल्ली आचार्य पुनः राजधानी दैनिकको सम्पादकमा नियुक्त

डिल्ली आचार्य पुनः राजधानी दैनिकको सम्पादकमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनले डिल्ली आचार्यलाई राजधानी राष्ट्रिय दैनिकको नयाँ सम्पादकका रूपमा नियुक्त गरेको छ । यसअघि सम्पादक रहेका सरोज मिश्रले व्यक्तिगत कारणले राजीनामा दिएपछि आचार्यलाई पुनः सम्पादकीय नेतृत्व दिइएको हो । नियुक्ति साउन ४ गतेदेखि औपचारिक रूपमा लागू भएको हो ।

आचार्य दोस्रो पटक राजधानी दैनिकको सम्पादकका रूपमा फर्किएका छन् । उनी यसअघि पनि राजधानी दैनिकसँग झण्डै १४ वर्षसम्म आबद्ध थिए भने करिब साढे ५ वर्षको अन्तरालपछि पुनः राजधानीमा सक्रिय भएका हुन् । उक्त अवधिमा उनले शिलापत्र डटकम, पालिकाखबर डटकम, द नेपाल टप दैनिक र वडापालिका डटकमजस्ता सञ्चारमाध्यमको नेतृत्व सम्हालेका थिए ।

सम्पादक पद हस्तान्तरणको अवसरमा आयोजित विशेष कार्यक्रममा पब्लिकेशनका अध्यक्ष सचिन शेरचन र प्रवन्ध निर्देशक आशिष शेरचनले सरोज मिश्रलाई बिदाइ गरेका थिए भने डिल्ली आचार्यलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रवन्ध निर्देशक शेरचनले मिश्र पब्लिकेशनबाट बिदाइ भए पनि संस्थाको विशेष सल्लाहकारको भूमिकामा निरन्तर रहने बताएका छन् ।

कार्यक्रममा बोल्दै पूर्व सम्पादक मिश्रले व्यक्तिगत व्यस्तताका कारण राजीनामा दिनुपरेको स्पष्ट पार्दै राजधानी पब्लिकेशनसँग सधैंको सल्लाहकार र शुभचिन्तकको भूमिकामा रहने प्रतिवद्धता जनाए । त्यस्तै, नयाँ सम्पादक डिल्ली आचार्यले राजधानी दैनिकलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्पूर्ण टिमको साथमा मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, समाचार संयोजकका रूपमा अमृतनाथ तिमिल्सना नियुक्त भएका छन् ।

Tokha