नकारात्मक भाष्यले होइन, परिश्रम र आशाले बन्छ समृद्ध नेपाल : उपप्रधानमन्त्री सिंह

नकारात्मक भाष्यले होइन, परिश्रम र आशाले बन्छ समृद्ध नेपाल : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले ‘देशमा केही हुँदैन’ भन्ने नकारात्मक सोच गलत भएको स्पष्ट पारेका छन् । उनले शिक्षा क्षेत्रमा हासिल भएका सकारात्मक उपलब्धिहरूले देशमा आशा र सम्भावनाको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

बुढानीलकण्ठ नगरपालिका-१३ स्थित पिक पोइन्ट एकेडेमीमा सोमबार आयोजित एसईई २०८१ सम्मान समारोहमा प्रमुख अतिथि सिंहले भने, ‘देशमा केही हुँदैन भन्ने सोच पूर्णतया गलत हो। यस्ता उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकहरूको समर्पणले नै देशको उज्ज्वल भविष्य निर्माण हुनेछ।’ उनले सकारात्मक सोच, परिश्रम र सहकार्यबाट समृद्ध नेपाल निर्माण सम्भव हुनेमा जोड दिए ।

यस वर्ष पिक पोइन्ट एकेडेमीका ६५ विद्यार्थी एसईईमा शतप्रतिशत उत्तीर्ण भएका छन् । तीमध्ये ६ जना विद्यार्थीले ४.० जीपीए हासिल गर्दै विशेष सम्मान प्राप्त गरेका छन् । विद्यालयले ४.० जीपीए ल्याउने हरेक विद्यार्थीलाई ५०-५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ। अन्य ५९ विद्यार्थीहरूलाई पनि उत्कृष्ट नतिजाको आधारमा नगद पुरस्कार प्रदान गरिएको छ ।

४.० जीपीए ल्याएर जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने विद्यार्थीहरूमा निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दीप राजभण्डारी र विष्णु कुमारी खुलाल मगर रहेका छन् ।

विद्यालयका सह-प्रधानाध्यापक तथा कार्यक्रम संयोजक महेश केसीका अनुसार, समारोहमा कुल ७ लाख ४५ हजार रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको हो  । यसका साथै, विद्यालयका उत्कृष्ट विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।

समारोहमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं. १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठ, अन्य वडाध्यक्षहरू, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरू, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

नगरप्रमुख मिठाराम अधिकारीले विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै विद्यालयलाई नगरस्तरबाट थप सम्मान गरिने घोषणा गरे । वडा अध्यक्ष टिकानारायण श्रेष्ठले पनि ४.० जीपीए ल्याउने विद्यार्थीहरूलाई वडा तर्फबाट पूर्वघोषित पुरस्कार प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल विनय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक ठमिन्द्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालक तथा नेपाली शिक्षक चिरञ्जीवी नेपालले सम्पूर्ण कार्यक्रम संयोजन गरेका थिए । समारोहमा उपप्रधानमन्त्री सिंहसहित विद्यालय सञ्चालक ईश्वर केसी, महेश केसी, अभिभावक प्रतिनिधि तथा सम्मानित विद्यार्थीहरूले मन्तव्य राख्दै विद्यालयको गौरवपूर्ण सफलताको प्रशंसा गरेका थिए ।

Tokha