बागमती प्रदेशमा तरकारी र पशुपालनमा उछाल, आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान

बागमती प्रदेशमा तरकारी र पशुपालनमा उछाल, आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा कृषिक्षेत्रमा उल्लेखनीय प्रगति देखाएको छ। नेपाल राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनअनुसार तरकारी र पशुपालनतर्फको उत्पादनमा उल्लेख्य वृद्धि भई समग्र आर्थिक वृद्धिमा सकारात्मक संकेत देखिएको छ।

तरकारी उत्पादन २१.८ प्रतिशतले वृद्धि भएको छ भने पशुजन्य वस्तुहरूमा दुध उत्पादन २.२ प्रतिशत, मासु ३.१ प्रतिशत र अण्डा ०.४ प्रतिशतले बढेका छन्। यी तथ्यांकहरूले बागमती प्रदेशको खाद्य सुरक्षासँगै ग्रामीण आयमा समेत सुधारको संकेत दिएका छन् ।

उद्योगतर्फको लगानीमा पनि सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाले कुल प्रवाहित कर्जाको ३६.६ प्रतिशत उद्योगतर्फ लगानी गरेका छन्, जुन आर्थिक गतिशीलताको स्पष्ट सूचक हो । त्यस्तै, निक्षेप संकलन ७.९ प्रतिशत र कर्जा प्रवाह १९.३ प्रतिशतले वृद्धि भएको छ। कर्जा ९ निक्षेप अनुपात हाल ७१.९ प्रतिशत पुगेको छ, जुन सन्तुलित आर्थिक सूचक मानिन्छ।

अध्ययनमा समावेश होटलहरूको औसत क्षमता उपयोग दर (अकुपेन्सी) ५२.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ५०.६ प्रतिशतभन्दा बढी हो । पर्यटन क्षेत्र विस्तारसँगै होटल व्यवसायमा सुधार देखिन थालेको छ ।

बागमती प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू-बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, काठमाडौं-तराई मधेस द्रुतमार्ग र मेलम्ची खानेपानी आयोजना (दोस्रो चरण)-तीव्र गतिमा अघि बढिरहेका छन्, जसले आगामी वर्षहरूमा ऊर्जा, खानेपानी र यातायातमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रारम्भिक अनुमानअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर चालु वर्षमा ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। सेवा क्षेत्रको योगदान ७७.१ प्रतिशत, कृषि क्षेत्रको ११.८ प्रतिशत र औद्योगिक क्षेत्रको ११.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

Tokha