काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ ।
अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिनमा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन् । नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै यस्तो संस्करण सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
आइतबार बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिदै भनिन् ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं । बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन् । यो नेपालका लागि हरित भविष्यतर्फ यात्राको निरन्तरता हो ।’
साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक भएको बताए ।
हरेक नयाँ संस्करणमार्फत स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका उनले बताए ।
बीवाईडी डल्फिनमा सबैभन्दा प्रमुख रूपमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको कम्पनीको भनाइ छ ।
ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्षसम्म हुन सक्नेछ ।
यसले लो-भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ । एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुने कार्यक्रममा जानकारी गराइएको छ ।
बीवाईडी डल्फिनले अत्याधुनिक बीवाईडी ई-प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
२०२५ संस्करणमा थपिएका नयाँ विशेषताहरूः
१. नेपालका विविध भू-परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन
२. रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स
३. उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम
४. मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ विशेष सुविधाहरू
यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ ।
यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रुपमा रु. ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ ।
साथै, सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको हो ।
बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ, र यसको गति अझ तीव्र हुँदै गइरहेको कम्पनीको दाबी छ । बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध छ ।

































