कालिकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, जीर्ण भवनमा जोखिमपूर्ण बसाइ

कालिकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, जीर्ण भवनमा जोखिमपूर्ण बसाइ

कालिकोट । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएका छन्। १५ जना पुरुष कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ४४ जना पुरुष र चार जना महिला गरी कुल ४८ जना कैदीबन्दी रहेका छन्।

२०३७ सालमा स्थापना भएको जिल्ला कारागारको भवन पुरानो र जीर्ण बन्दै गएपछि कैदीबन्दीको व्यवस्थापनमा थप समस्या भएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा उनीहरूको बसोबास र सुरक्षामा समेत जोखिम बढेको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागार कालिकोटका निमित्त प्रमुख जेलर कर्णप्रसाद पण्डितका अनुसार कारागारको भौतिक संरचना निकै पुरानो र जीर्ण अवस्थामा छ। सीमित पूर्वाधार र साँघुरा कोठामा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए।

‘यहाँको भौतिक संरचना अत्यन्तै जीर्ण छ। जीर्ण भवनमा यति धेरै कैदी बस्नुपर्दा जीवनको जोखिम पनि उत्तिकै छ,’ पण्डितले भने, ‘कतिका मुद्दा चलिरहेका छन्, केही अझै थपिन्छन् होला तर यो भवनमा कैदीलाई बास बसाउने ठाउँसमेत समस्या रहेको छ।’

उनका अनुसार २०६५ सालमा कारागार भवनको सामान्य मर्मत गरिएको भए पनि त्यसयता आवश्यक मर्मतसम्भार हुन सकेको छैन। लामो समयदेखि गोलघेराको पर्खालसमेत मर्मत नहुँदा कारागारको भौतिक अवस्था थप कमजोर बनेको छ।

कारागारमा कैदीबन्दीको संख्या बढ्दै जाँदा उपलब्ध संरचनाले धान्न नसक्ने अवस्था सिर्जना भएको छ। साँघुरा कोठा र सीमित पूर्वाधारका कारण कैदीबन्दीको बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न हुने जोखिम रहेको पण्डितले बताए।

कारागार व्यवस्थापनका अनुसार हाल १५ जना पुरुष कैदीबन्दी राख्ने क्षमता भएको भवनमा ४४ जना पुरुष रहेका छन्। त्यस्तै, १० जना महिला कैदीबन्दी राख्न सक्ने क्षमता भएको स्थानमा चार जना महिला रहेका छन्।

पुरानो भवनको मर्मतसम्भार तथा कारागारको क्षमता विस्तार हुन नसके कैदीबन्दीको सुरक्षा र व्यवस्थापनमा थप चुनौती बढ्ने देखिएको छ।

Tokha