‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना, इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना, इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन

काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता र मानवताको सन्देश विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ ।

नेपाल प्रतिनिधि टायम कट्टेलका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । नेपाल च्याप्टरले गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाका शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादासम्बन्धी विचार तथा जीवनदर्शनलाई नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने अभियान सञ्चालन गर्नेछ ।

नेपाल प्रतिनिधि कट्टेलले बुद्धको शान्ति, अहिंसा, करुणा र मैत्रीको सन्देश वर्तमान विश्वमा झनै सान्दर्भिक रहेको बताए । द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित विश्व समुदायमाझ बुद्धको दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै नेपालको ऐतिहासिक पहिचान र विश्वप्रतिको योगदानलाई थप स्थापित गर्ने उद्देश्यले नेपाल च्याप्टर गठन गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार महात्मा गान्धीले सत्य, अहिंसा र शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई परिवर्तनको मार्ग देखाएका थिए भने नेल्सन मण्डेलाले समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । यी तीन महान् व्यक्तित्वका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवर्द्धन गर्नु फाउन्डेसनको प्रमुख उद्देश्य रहेको उनले बताए ।

फाउन्डेसनले ‘शान्ति भनेको द्वन्द्वको अनुपस्थिति मात्र होइन, मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति पनि हो’ भन्ने साझा सन्देशलाई आत्मसात् गरेको छ ।

‘गान्धी–मण्डेला फाउन्डेसन’ अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । संस्थाले विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य तथा विविध गतिविधिमार्फत गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाका दर्शन तथा जीवनमूल्यको प्रवर्द्धन गर्दै आएको छ ।

विश्व शान्ति, अहिंसा, मानव अधिकार, सामाजिक न्याय र मानवताको संरक्षणसँगै विभिन्न देशका नागरिकबीच जनस्तरीय सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, शिक्षा, युवा सहभागिता तथा सामाजिक सहकार्यलाई पनि फाउन्डेसनले प्राथमिकतामा राखेको छ ।

नेपाल च्याप्टर स्थापनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । दुवै देशबीचको सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन र सामाजिक परम्परामा रहेको ऐतिहासिक निकटतालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

नेपाल च्याप्टरले विशेषगरी नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, सांस्कृतिक संस्था तथा शान्तिका पक्षधर व्यक्तित्वबीच सहकार्य र संवादका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । यसका लागि आगामी दिनमा विभिन्न कार्यक्रम तथा गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइने च्याप्टरले जनाएको छ ।

Tokha