काठमाडौं । नेपालमा डिजिटल सेवा र इन्टरनेटको पहुँच विस्तार भए पनि नागरिकको व्यक्तिगत डेटा सुरक्षा, गोपनीयता र साइबर सुरक्षाको अवस्था कमजोर रहेको डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पछिल्लो पाँचदेखि सात वर्षमा डिजिटल सेवा प्रवाहमा उल्लेख्य प्रगति भए पनि डेटा संरक्षणसम्बन्धी कानुन र त्यसको कार्यान्वयनमा कमजोरी रहेको बताए।
उनका अनुसार सरकारी तथा निजी क्षेत्रमा डेटा चुहावटका घटना भइरहे पनि दोषीलाई कारबाही गर्ने प्रभावकारी व्यवस्था छैन। विद्युतीय कारोबार ऐन पुरानो भइसकेको र साइबर सुरक्षा तथा डेटा संरक्षणसम्बन्धी छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
सिग्देलले एआईको बढ्दो प्रयोगसँगै गलत सूचना, कृत्रिम सामग्री र गोपनीयतासम्बन्धी जोखिमसमेत बढ्दै गएको बताए।
बैंकिङ, स्वास्थ्य, शिक्षा तथा सरकारी सेवामा नागरिकका व्यक्तिगत विवरण संकलन हुने भएकाले त्यसको प्रयोग, पहुँच, भण्डारण र सुरक्षाबारे स्पष्ट कानुनी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
उनले डिजिटल प्रविधिको विकाससँगै नागरिकको अधिकार, गोपनीयता र सुरक्षाको प्रत्याभूति गर्न नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको बताए।



































