तिहारका लागि साढे ६४ करोडको झिलिमिली बत्ती आयात, मूल्य २० प्रतिशतसम्म बढ्ने

तिहारका लागि साढे ६४ करोडको झिलिमिली बत्ती आयात, मूल्य २० प्रतिशतसम्म बढ्ने

 

  • काठमाडौं । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरेको छ।

    भन्सार विभागका अनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढे पनि परिमाण भने २७ प्रतिशतले घटेको छ।

    नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ।

    उनका अनुसार झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र प्लास्टिकको मूल्य चीन तथा अन्तर्राष्ट्रिय बजारमै बढेको छ। डलरको मूल्य वृद्धि हुँदा आयात लागतसमेत बढेको उनले बताए।

    त्यस्तै, कन्टेनर ढुवानी खर्च अघिल्लो वर्षको २ हजारदेखि २ हजार २०० डलरबाट बढेर अहिले ६ हजार डलरसम्म पुगेको छ। ढुवानी खर्च बढ्दा आयातित सामग्रीको मूल्यसमेत महँगिएको उनको भनाइ छ।

    चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन नसक्दा वीरगन्जलगायत अन्य नाकाबाट घुमाएर सामान ल्याउनुपर्ने अवस्था रहेको पौडेलले बताए।

    उनका अनुसार बजारमा झिलिमिली बत्तीको माग भए पनि यस वर्ष व्यवसायीसँग पर्याप्त मौज्दात छैन। कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्च र आपूर्ति समस्याका कारण यस वर्ष तिहारमा झिलिमिली बत्ती गत वर्षभन्दा महँगो पर्ने देखिएको छ।

 

Tokha