काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलो पटक सञ्चालन भएको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ। कात्तिक १३ देखि १५ गतेसम्म तीन दिन चलेको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा चलचित्र तथा कथा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
महोत्सवको समापनसँगै चलचित्र क्षेत्रका कलाकार, चलचित्रकर्मी तथा सरोकारवालाहरूले काठमाडौं फिल्म फेस्टिभललाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले महोत्सवले नेपाली चलचित्र, कला, संस्कृति, सम्पदा र मौलिक कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। उनका अनुसार महानगरपालिकाले काठमाडौं फिल्म फेस्टिभललाई नेपालको मौलिकता झल्काउने, आत्मनिर्भर तथा विश्वस्तरीय चलचित्र महोत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
डंगोलले पहिलो संस्करणमै महोत्सवलाई सीमित नराखी नेपाली कला, संस्कृति, सम्पदा र मौलिक कथालाई विश्व समुदायसम्म पुर्याउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन्। तीन दिनसम्म चलचित्र प्रदर्शनसँगै सम्पदा, पर्यटन, संगीत तथा सिर्जनात्मक क्षेत्रका विभिन्न विषयमा छलफल र अन्तरक्रिया गरिएको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘काठमाडौं फिल्म फेस्टिभल निरन्तर हुनुपर्छ। पहिलो वर्षमै यसलाई टुंग्याउनु हुँदैन। आज काठमाडौं फिल्म फेस्टिभलको समापन गर्दै छौं, तर काठमाडौंका कथा र देशका कथाहरू कहिल्यै समापन हुनुहुँदैन। यो सुरुवात हो। यसपटक हामीले नेपालको कथा सुनाउने र देखाउने प्रयास गरेका छौं।’
डंगोलका अनुसार महोत्सवमा युवा पुस्तालाई दर्शकका रूपमा मात्र नभई चलचित्र निर्माण प्रक्रियामा समेत सहभागी गराउने प्रयास गरिएको थियो। युवाहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि र प्रोत्साहन गर्ने उद्देश्यले तीन मिनेटको लघुचलचित्र तथा पाँच मिनेटको छोटो भिडियो प्रतियोगिता आयोजना गरिएको थियो।
त्यसैगरी, महोत्सवलाई दीर्घकालीन रूपमा संस्थागत गर्न आवश्यक कार्यविधि निर्माण तथा क्रिएटिभ काउन्सिल गठन गरिएको पनि उनले बताइन्। यसले आगामी संस्करणलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने महानगरको अपेक्षा छ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महोत्सव महत्वपूर्ण : बसुन्धरा भुसाल
वरिष्ठ कलाकार बसुन्धरा भुसालले काठमाडौं फिल्म फेस्टिभलको पहिलो संस्करण भव्य र सभ्य रूपमा सम्पन्न भएको बताएकी छन्। यस्ता महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उनको भनाइ छ।
उनले नेपाली चलचित्र निर्माण गर्दा देशको कला, संस्कृति, परम्परा, सम्पदा र मौलिकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
भुसालले भनिन्, ‘पहिलो पटक यति भव्य र सभ्य तरिकाले महोत्सव आयोजना हुनु हामी चलचित्रकर्मीका लागि खुसीको कुरा हो। आफ्नो फिल्म परोस् वा नपरोस्, चलचित्रले स्थान पाउनुपर्छ र कलाकार तथा चलचित्रले न्याय पाउनुपर्छ। हाम्रो देश कला, संस्कृति र सम्पदामा धनी छ। त्यसैले यी पक्ष समेटिएका चलचित्र निर्माण गर्न आवश्यक छ।’
उनले चलचित्र क्षेत्रमा सफलता हासिल गर्न धैर्य, मेहनत र निरन्तरता आवश्यक रहेको उल्लेख गरिन्। साथै सरकारले कलाकार तथा चलचित्रकर्मीको संरक्षण र प्रोत्साहनका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिइन्।
नेपाली सांस्कृतिक सम्पदा विश्वसामु चिनाउने अवसर : नीर शाह
वरिष्ठ कलाकार नीर शाहले काठमाडौं फिल्म फेस्टिभललाई नेपाली सांस्कृतिक सम्पदा र मौलिक पहिचान विश्वसामु चिनाउने अर्थपूर्ण अभियानका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार काठमाडौं, भक्तपुर र पाटनका ऐतिहासिक सम्पदा, चाडपर्व, भेषभूषा, रहनसहन तथा खानपानको संस्कृतिलाई चलचित्रका माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सकिन्छ।
शाहले चलचित्र दृश्य तथा श्रव्य माध्यम भएकाले नेपालको सांस्कृतिक विविधता र पहिचान प्रस्तुत गर्न प्रभावकारी भूमिका खेल्न सक्ने बताए।
उनले भने, ‘चलचित्र असाध्यै सशक्त माध्यम बन्न सक्छ। आफ्ना पर्व, संस्कृति, वस्त्र र खाद्य संस्कृतिका विभिन्न पक्ष विदेशी पाहुनालाई चिनाउने तथा तिनको व्यापक प्रचारप्रसार गर्ने प्रयास यो महोत्सवले गरेको छ। समग्रमा यो अर्थपूर्ण महोत्सव आयोजना भएको मैले महसुस गरेको छु।’
शाहले आगामी संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता थप विस्तार गर्नुपर्ने सुझाव दिए। चलचित्रका विधा, विषयवस्तु र प्रस्तुतिको दायरा फराकिलो बनाउनुपर्ने उनको भनाइ छ।
उनले नयाँ पुस्तामा नेपाली चलचित्रप्रतिको आकर्षण बढाउनुपर्ने र चलचित्र हेरेपछि त्यसको समीक्षा तथा विश्लेषण गर्ने संस्कार विकास गर्नुपर्नेमा समेत जोड दिए।
चलचित्रकर्मीलाई थप ऊर्जा र प्रोत्साहन : करिश्मा मानन्धर
कलाकार करिश्मा मानन्धरले काठमाडौं फिल्म फेस्टिभलले नेपाली चलचित्रकर्मीलाई थप ऊर्जा र प्रोत्साहन प्रदान गरेको बताएकी छन्।
चलचित्र निर्माणका क्रममा कलाकार तथा प्राविधिकहरूले ठूलो मेहनत र समय खर्चिने भए पनि उनीहरूको कामलाई दर्शकमाझ पुर्याउन यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
उनले यस्ता कार्यक्रमले नेपालभित्र मात्र नभई विदेशमा रहेका दर्शकलाई समेत नेपाली चलचित्र क्षेत्रमा भइरहेका सिर्जनात्मक गतिविधिबारे जानकारी गराउने बताइन्।
मानन्धरले भनिन्, ‘हामी चलचित्रकर्मीले चलचित्र निर्माण गर्दा मेहनत गरिरहेका हुन्छौं। तर, यस्ता उत्सव र महोत्सवले थप ऊर्जा दिन्छन्। साथै देशविदेशका दर्शकलाई नेपाली चलचित्र क्षेत्रमा कस्ता काम भइरहेका छन् भन्ने जानकारी पनि हुन्छ। यो महोत्सव निरन्तर हुनुपर्छ र हरेक वर्ष आयोजना गरिनुपर्छ।’
सम्पदा पदयात्रादेखि कोरा र दीप प्रज्वलनसम्म
काठमाडौं फिल्म फेस्टिभललाई चलचित्र प्रदर्शनमा मात्र सीमित नराखी काठमाडौंको सांस्कृतिक तथा धार्मिक पहिचानसँग पनि जोडिएको थियो।
महोत्सवको पहिलो दिन वसन्तपुरस्थित हनुमानढोकामा सम्पदा पदयात्रा आयोजना गरिएको थियो। उक्त कार्यक्रममार्फत काठमाडौंको ऐतिहासिक सम्पदा र सांस्कृतिक महत्वलाई सहभागी तथा दर्शकमाझ परिचित गराउने प्रयास गरिएको थियो।
त्यस्तै, महोत्सवको समापनका अवसरमा बौद्ध क्षेत्रमा कोरा, दीप प्रज्वलन तथा प्रार्थनालगायतका कार्यक्रम आयोजना गरिएका थिए।
तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा चलचित्र तथा कथा प्रस्तुत गरिएका थिए। चलचित्र प्रदर्शनसँगै सांस्कृतिक सम्पदा, पर्यटन, संगीत र सिर्जनात्मक क्षेत्रका विषयमा छलफल तथा अन्तरक्रियासमेत गरिएको थियो।
समग्रमा काठमाडौं फिल्म फेस्टिभलको पहिलो संस्करणले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, नयाँ पुस्तालाई चलचित्र निर्माणमा आकर्षित गर्ने तथा नेपालको मौलिक कला, संस्कृति र सम्पदालाई चलचित्रमार्फत विश्वसामु चिनाउने सम्भावना प्रस्तुत गरेको छ।
महोत्सवमा सहभागी कलाकार तथा सरोकारवालाहरूले यसलाई एकपटकको कार्यक्रमका रूपमा सीमित नराखी प्रत्येक वर्ष निरन्तर आयोजना गर्नुपर्ने साझा धारणा व्यक्त गरेका छन्। आगामी संस्करणमा यसको सहभागिता, विषयवस्तु र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्दै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउनुपर्ने उनीहरूको सुझाव छ।

































