काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं कला, संस्कृति, भाषा र परम्पराले समृद्ध कथा नै कथामा बाँचेको सहर भएको बताएकी छन् ।
शुक्रबार काठमाडौं फिल्म फेस्टिभल २०२६ को उद्घाटन समारोहमा बोल्दै उनले चलचित्र समाजका कथा, संस्कृति र समुदायलाई जोड्ने सशक्त माध्यम भएको बताइन् ।
नेपाल भाषाको चलचित्र ‘सिलु’ हेर्दाको बाल्यकालीन अनुभव स्मरण गर्दै डंगोलले चलचित्रले मानिसको सोच र जीवनमा दीर्घकालीन प्रभाव पार्ने बताइन् । दबु प्याखँ, दिप्याखँ, कार्तिक नाच र नवदुर्गा नाचजस्ता परम्पराले काठमाडौंका कथा पुस्तौँदेखि सुनाउँदै आएको उनको भनाइ थियो ।
काठमाडौंका टोल, चोक, ननी, बहा र बहीदेखि विदेशमा रहेका नेपाली समुदायका विविध कथा र आवाजलाई महोत्सवले समेट्ने उनले बताइन् । युनेस्को सिर्जनशील चलचित्र सहरको पहिचान उपयोग गर्दै महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने महानगरको लक्ष्य रहेको उनले उल्लेख गरिन् ।
यसैगरी, हास्य कलाकार हरिवंश आचार्यले राम्रो काम गर्ने हरेक व्यक्ति हिरो हुने बताएका छन् । उनले कार्यवाहक प्रमुख डंगोललाई नेपाली चलचित्र क्षेत्रलाई अभिभावकत्व प्रदान गरेको भन्दै ‘हिरो’को संज्ञा दिए ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको महोत्सव नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै आचार्यले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन गुणस्तरीय चलचित्र निर्माणमा जोड दिए । नेपालका प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र ऐतिहासिक देवालयलाई चलचित्रमार्फत विश्वसामु पुर्याउन सकिने उनको भनाइ थियो ।



































