एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित

काठमाडौं । उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला तथा सामाजिक सेवामा योगदान पुर्‍याएका व्यवसायी तथा पेशागत व्यक्तित्वहरू एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ बाट सम्मानित भएका छन्।

सिजन मिडियाको आयोजनामा भएको अवार्डको सातौँ संस्करण काठमाडौंमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समारोहमा नेपालसहित जापान, भारत, मलेसिया, बंगलादेश र चीनका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

औद्योगिक तथा व्यावसायिक क्षेत्रतर्फ पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड इन इन्डस्ट्रियल लिडरसीप’ प्रदान गरिएको छ। त्यस्तै हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसीप अवार्ड’ र नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसीप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ।

ऊर्जा क्षेत्रतर्फ इप्पानका निर्वतमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्कीलाई ‘इनर्जी लिडरसीप एक्सिलेन्स अवार्ड’ तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसीप अवार्ड’ प्रदान गरिएको थियो।

पर्यटन तथा आतिथ्य क्षेत्रतर्फ होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई ‘हस्पिटालिटी इन्डस्ट्री लिडरसीप एक्सिलेन्स अवार्ड’ र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ‘भिजन लिडरसीप इन अर्बन डेभलपमेन्ट एन्ड पब्लिक सर्भिस अवार्ड’ प्रदान गरिएको थियो। वरिष्ठ पत्रकार तथा लेखक धर्मेन्द्र झालाई वरिष्ठ नेपाली पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा चिकित्सा, बीमा, बैंकिङ, उड्डयन, शिक्षा, सौन्दर्य, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका डा. बिश्व पोखरेल, निर्मल काजी श्रेष्ठ, माधवप्रसाद उपाध्याय, क्याप्टेन भावना पन्त, उद्धव बार्तौला, सुष्मा महरा, महेशबाबु तिमल्सिना र समा थापालगायतलाई पनि सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय विधाअन्तर्गत जापानका फोटो पत्रकार नोबोरु ताकाओका, भारतका वरिष्ठ फोटो पत्रकार पुरुषोत्तम दिवाकर, मलेसियाका चेओङ क्वेई सेङ, बंगलादेशका शरीफ सरवर तथा चीनका जोएसन चेन र वेनी काईलगायतलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

पूर्वराष्ट्रपति डा. यादवले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दा नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने बताए। उनले सम्मानित व्यक्तिहरूलाई आफ्नो योगदानलाई थप विस्तार गर्दै समाज र राष्ट्रको हितमा काम गर्न आग्रह गरे।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले व्यवसाय तथा पेशागत क्षेत्रमा योगदान गर्ने व्यक्तिको मेहनत, संघर्ष, उपलब्धि र सामाजिक योगदानको पहिचान गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताए। नेपाल तथा अन्य एसियाली मुलुकका व्यवसायी र पेशागत व्यक्तित्वबीच सहकार्य तथा अनुभव आदानप्रदान विस्तार गर्न कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

Tokha