काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। तीजको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर मा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू भगवान् शिवको पूजा–आराधना र दर्शनका लागि पशुपति क्षेत्रमा पुगेका छन्।
हरितालिका तीजका दिन महिलाहरूले निराहार वा फलाहार व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ। सुख, शान्ति, समृद्धि तथा पारिवारिक सु–स्वास्थ्यको कामना गर्दै महिलाहरूले शिवालयमा पूजा गर्ने गर्दछन्।
पशुपति क्षेत्रमा भक्तजनको चाप बढेसँगै दर्शन तथा पूजाका लागि आवश्यक सुरक्षा र व्यवस्थापनसमेत मिलाइएको छ। तीजका कारण पशुपति क्षेत्र बिहानैदेखि भक्तिमय बनेको छ।



































