काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंमा सांकेतिक प्रदर्शन गरेको छ।
विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमै दाउरा बालेर खाना पकाउँदै ग्यास अभावको विरोध गरेका हुन्। ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारलाई दबाब दिने उद्देश्यले विद्यार्थीहरूले परम्परागत रूपमा दाउरा प्रयोग गरेर खाना पकाउने अवस्था आएको संकेत गर्दै प्रदर्शन गरेका हुन्।
ग्यासको अभावका कारण सर्वसाधारण उपभोक्ता समस्यामा परेको भन्दै विद्यार्थी संगठनले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरेको छ। उनीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिमाथि निगरानी र आवश्यक कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
विद्यार्थी संगठनले ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने जनाएको छ। तत्काल समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।



































