विराटनगर । सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा कोशी प्रदेशका ११ युवाले ज्यान गुमाएका थिए।
एक वर्षपछि पनि आन्दोलनले उठाएका मुद्दा र त्यस क्रममा भएको जनधनको क्षतिको स्मृति ताजै छ। यद्यपि, कोशीका युवाहरूले आन्दोलनपछि आएको राजनीतिक परिवर्तनलाई अहिले नै पूर्ण सफलता वा असफलताको निष्कर्षमा पुगेर मूल्यांकन गर्न नहुने बताएका छन्।
लिओ क्लब अफ इटहरीकी अध्यक्ष सर्मिला कार्कीले आन्दोलनका क्रममा आफ्नै आँखाअगाडि गोली लागेर युवाहरू ढलेको दृश्य अझै बिर्सन नसकेको बताइन्। उनका अनुसार आन्दोलनले परिवर्तनको आशा भने जीवित राखेको छ।
मोरङका भोजराज रिजालले युवाको आवाज र सुशासनलाई राजनीतिक बहसको केन्द्रमा ल्याउनु आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताए। तर रोजगारी, शिक्षा र भ्रष्टाचार नियन्त्रणमा अपेक्षाअनुसार प्रगति हुन नसकेको उनको भनाइ छ।
रोटर्याक्ट क्लब अफ मेचीनगरका अध्यक्ष आदेश केसीले सरकारको कामभन्दा छवि निर्माणमा बढी ध्यान गएको जस्तो देखिएको बताए। सरकारप्रति आशा राख्नुपर्ने भए पनि अन्धसमर्थनभन्दा सरकारका कमजोरीमाथि प्रश्न उठाउने वातावरण आवश्यक रहेको उनको धारणा छ।
उदयपुरका साजन श्रेष्ठले आन्दोलनले उठाएका अधिकांश मुद्दा अझै पूरा हुन नसकेको बताए। तर प्राकृतिक विपद्का कारण पनि विकास र परिवर्तनको गति प्रभावित भएकाले एक वर्षमै सरकारको अन्तिम मूल्यांकन गर्न नहुने उनको भनाइ छ।
तेह्रथुमका सुजन गौतमले पार्टीभन्दा देश र नेताभन्दा जनता ठूलो भएको उल्लेख गर्दै आन्दोलनले राजनीतिक परिवर्तनको आधार तयार गरे पनि घाइते तथा पीडितले अझै न्यायका लागि संघर्ष गर्नुपरेको बताए।
कोशीका ११ युवाको बलिदान सरकारी अभिलेखमा शहीदका रूपमा दर्ज भए पनि उनीहरूको योगदान नामावलीमा मात्र सीमित नहोस् भन्ने अपेक्षा परिवार, घाइते र नयाँ पुस्तामा कायमै छ। आन्दोलनले उठाएका मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकले अनुभूति गर्ने परिवर्तन ल्याउनु नै अब त्यसको वास्तविक उपलब्धिको मापदण्ड बन्नेछ।



































