‘वर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिनँ, राम्रो काम गरोस् भन्ने शुभकामना छ’ : मिराज ढुंगाना

‘वर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिनँ, राम्रो काम गरोस् भन्ने शुभकामना छ’ : मिराज ढुंगाना

काठमाडौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनका अभियन्ता मिराज ढुंगानाले सत्ता परिवर्तनलाई मात्र परिवर्तनको मापदण्ड मान्न नहुने बताएका छन्। नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै आन्दोलनले खोजेको परिवर्तनको वास्तविक अनुभूति हुने उनको भनाइ छ।

भदौ २३ गते जेनजी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै ढुंगानाले आन्दोलनपछि मुलुकले ठूलो राजनीतिक संक्रमण बेहोरे पनि त्यसको प्रभाव नागरिकको दैनिक जीवनमा अपेक्षाअनुसार देखिन नसकेको बताए।

उनका अनुसार जेनजी आन्दोलन एउटै कारण वा शब्दले व्याख्या गर्न सकिने घटना होइन। मुलुकको विद्यमान राजनीतिक पद्धतिले निकास दिन नसक्ने अवस्था देखिएपछि परिवर्तन आवश्यक ठानेर आफू आन्दोलनमा सहभागी भएको उनले बताए। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भने आन्दोलनलाई तीव्र बनाउने प्रमुख कारणमध्ये एक रहेको उनको भनाइ छ।

ढुंगानाले अहिले पुनः आन्दोलन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। आन्दोलनलाई निरन्तरता दिँदा देश थप अस्थिर बन्न सक्ने भन्दै उनले काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

‘आन्दोलन भयो कि फेरि देश अस्थिर हुन्छ । काम कहिले गर्ने ? आन्दोलन सधैँ गर्ने कुरा होइन,’ उनले भने।

उनका अनुसार कुनै विशेष परिस्थितिमा आन्दोलन आवश्यक हुन सक्छ, तर निरन्तर सत्ता परिवर्तनका लागि आन्दोलन गरिरहनु उचित हुँदैन। सामाजिक सञ्जालमा आफूले भदौ २३ र २४ गते पुनः आन्दोलन गर्न लागेको भन्दै फैलाइएको प्रचार गलत सूचना भएको उनको दाबी छ।

ढुंगानाले वर्तमान सरकारलाई जेनजीको सरकारका रूपमा स्वीकार गर्न आफू तयार नरहेको बताए। सरकार गठनप्रति सुरुदेखि नै आफू उत्साहित नरहेको उल्लेख गर्दै उनले राजनीतिक पृष्ठभूमि र अनुभव भएका व्यक्तिको भूमिकालाई पनि महत्व दिनुपर्ने धारणा राखे।

‘म उहाँहरूलाई जेनजीको सरकार भन्न तयार छैन, तर उहाँहरूले राम्रो काम गरून् भन्ने मेरो शुभकामना छ,’ उनले भने।

सरकारको नियत मात्र राम्रो भएर नपुग्ने भन्दै उनले कार्यान्वयन क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताए। सरकार पाँच वर्ष टिकेर काम गर्नुपर्ने आफ्नो चाहना रहेको उनको भनाइ छ।

ढुंगानाले जेनजी आन्दोलनको मूल उद्देश्य सत्ता परिवर्तन मात्र नभएको बताए। नागरिकले आफ्नो दैनिक जीवनमा सहजता महसुस गर्न सके मात्र परिवर्तनको अर्थ रहने उनको धारणा छ।

महँगी, बेरोजगारी, घरभाडा, दैनिक उपभोग्य वस्तुको मूल्य र युवाको विदेश पलायनजस्ता विषयलाई उनले वास्तविक परिवर्तनको सूचकका रूपमा प्रस्तुत गरे।

‘म परिवर्तन भएको छ कि छैन भनेर आफ्नो जीवनस्तर हेर्छु । महँगी घटेको छ कि छैन, बाँच्न सहज भएको छ कि छैन, नागरिकले आफ्नै देशमा काम पाउने अवस्था बनेको छ कि छैन ?’ उनले प्रश्न गरे।

इन्टरनेटमा देखिने विकासका दाबीभन्दा नागरिकको वास्तविक जीवनमा आएको सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

सरकारले गरिब, मजदुर तथा निमुखा नागरिकको समस्या बुझेर नीति बनाउनुपर्ने ढुंगानाले बताए। काठमाडौंको सीमित घेराभित्र बसेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदैमा देशको वास्तविक अवस्था बुझ्न नसकिने उनको तर्क छ।

‘सरकार जनता र ग्राउन्डको नजिक हुनुप¥यो। काठमाडौंको एउटा कुनामा बसेर स्टाटस लेख्दैमा देशको वास्तविक अवस्था र यहाँका अन्तरविरोध बुझिँदैन,’ उनले भने।

उनका अनुसार नागरिकको वास्तविक समस्या नबुझी विकासको परिकल्पना गर्न सकिए पनि त्यसलाई व्यवहारमा उतार्न कठिन हुन्छ।

‘जेनजी आन्दोलनको उपलब्धिका रूपमा ढुंगानाले राजनीतिक पुस्तान्तरण र युवामा राजनीतिप्रतिको बढ्दो चासोलाई महत्वपूर्ण मानेका छन्।

‘एउटा पुस्तान्तरण भयो । अर्को, नागरिकहरू राजनीतिप्रति अझ बढी रुचि राख्न थाले । यी दुई कुरा आन्दोलनका प्रमुख देन हुन् जस्तो लाग्छ,’ उनले भने।

तर आन्दोलनपछि नागरिकले अपेक्षा गरेको आर्थिक तथा सामाजिक परिवर्तन अझै पूर्ण रूपमा स्थापित हुन नसकेको उनको बुझाइ छ।

आन्दोलनका क्रममा भएका हिंसात्मक तथा विध्वंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने ढुंगानाले बताए। सार्वजनिक तथा ऐतिहासिक सम्पत्तिमा क्षति पुर्‍याउनेलाई दण्डहीनता दिन नहुने उनको धारणा छ।

तर आन्दोलनका क्रममा निर्दोष व्यक्ति पक्राउ परेको भए उनीहरूको पनि तत्काल छानबिन गरी रिहा गर्नुपर्ने उनले बताए। दोषी र निर्दोष छुट्याउन अनुसन्धान तथा न्यायिक प्रक्रिया छिटो अघि बढाउनुपर्ने उनको जोड छ।

‘प्रतिशोध साँधेर राज्य चल्दैन,’ उनले भने, राज्यले सबैलाई समान व्यवहार गर्दै कानुनी प्रक्रियाबाट मात्रै अनुसन्धान र कारबाही गर्नुपर्ने धारणा राखे।

‘जेनजी आन्दोलनबारे बनेको कार्की आयोगको प्रतिवेदनप्रति समेत ढुंगानाले असन्तुष्टि व्यक्त गरे। प्रतिवेदनको पहिलो पानामै आन्दोलनको नाम सही रूपमा उल्लेख नभएको भन्दै उनले त्यसले आफ्नो विश्वास कमजोर बनाएको बताए।

मानव अधिकारसम्बन्धी प्रतिवेदन भने तुलनात्मक रूपमा भरपर्दो लागेको उनले बताए।

‘ढुंगानाले वर्तमान सरकारप्रति आफू पूर्ण निराश नभएको तर अपेक्षाअनुसार काम हुन नसके वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता देखिन सक्ने संकेत गरे।

‘अहिले हामी आशावादी हौँ । यदि यो सरकार वा सत्तासीन दल सफल भएन भने हामी तेस्रो धारको परिकल्पना गर्दैछौँ,’ उनले भने।

बाढीपहिरोजस्ता विपद्का बेला राज्यले उद्धार तथा राहतमा अझ छिटो निर्णय लिनुपर्ने उनको सुझाव छ। विगतका विपद् तथा महामारीबाट सिक्दै आपत्कालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।

सरकारले उमेरका आधारमा अनुभवी व्यक्तिलाई पन्छाउन नहुने धारणा राख्दै उनले अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई उपयोग गर्नुपर्ने बताए।

जेनजी आन्दोलनपछिको संक्रमणकाल अझै पूर्ण रूपमा टुंगिनसकेको उल्लेख गर्दै ढुंगानाले सरकार गठन भएको केही समय मात्रै भएकाले आगामी दिनमा यसको काम र परिणामले धेरै कुरा स्पष्ट पार्ने धारणा व्यक्त गरे।

Tokha