काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ।
राष्ट्रिय शोक दिवसका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालयका परिसरमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको हो।
विनाशकारी बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, खोज तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ।



































