साउदी अरेबियामाथि नेपालको सानदार जित, एक खेलअगावै सेमिफाइनलमा

साउदी अरेबियामाथि नेपालको सानदार जित, एक खेलअगावै सेमिफाइनलमा

काठमाडौं, २१ भदौ । मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

क्वालालम्पुरमा शनिबार भएको खेलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा गुलशनकुमार झा र ईशान पाण्डेले समान ४४ रन बनाए। गुलशन ४४ रनमा अविजित रहे भने कप्तान रोहितकुमार पौडेल २४ रनमा नटआउट रहे। देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले ७७ रन बनाए।

साउदीलाई रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। सन्दीपले १० ओभरमा २ मेडनसहित १९ रन मात्र खर्चिए। ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ। नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।

Tokha