चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवा सीडीओद्वारा तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवा सीडीओद्वारा तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौं, १२ भदौ । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
प्रजिअ परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएपछि नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर गरिएको छ।
‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ,’ प्रजिअ परियारले बताए।
छोचेन खोला र पुरेपू त्साङ्पो नदी चीनको तिब्बत क्षेत्रमा उद्गम भई नेपालतर्फ बग्ने नदी हुन्। नेपाल प्रवेश गरेपछि यी नदीहरू भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले चीनतर्फ ताल फुट्दा यसको प्रभाव नेपालतर्फ पनि पर्न सक्ने जोखिम रहेको छ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको थियो। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको थियो। सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।
चीनतर्फ उद्धार अभियान स्थगित
ताल फुटेपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बत क्षेत्रमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार घटनास्थलमा खटिएका उद्धार टोलीलाई सुरक्षित स्थानमा हट्न र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ। केही टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा जान आदेश दिइएको बताइएको छ।
पहिरोपछि चीन–नेपाल सीमाक्षेत्रमा थुप्रिएको ठूलो परिमाणको भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर पानी बग्न थालेपछि उद्धार कार्यमा समेत जोखिम बढेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
यस घटनाले नेपालतर्फ विशेषगरी रसुवागढी, भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा थप बाढीको जोखिम बढाएको हुन सक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Tokha