काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनसहित विभिन्न समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाका प्रमुख समस्याबारे जानकारी गराउने निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकारी दिए।
फोरमले प्रधानमन्त्रीसमक्ष उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थापन लगायतका विषय उठाउने भएको छ।
फोरमका अनुसार यी विषय लामो समयदेखि स्थानीय तहले भोग्दै आएका समस्या हुन्। त्यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग समन्वय र आवश्यक निर्णयको माग गरिनेछ।
बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले गरेको व्यवहारप्रति पनि घोर आपत्ति जनाएको छ।
फोरमले स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा समन्वयमा मर्यादित र जिम्मेवार व्यवहार हुनुपर्ने धारणा राखेको छ।
काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जालका रूपमा रहेको मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ।
फोरमले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहेका समयदेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच उपत्यकाको फोहोर व्यवस्थापनका लागि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै आएको जनाएको छ। सम्झौता कार्यान्वयन हुन नसक्ने अवस्था भए त्यसलाई खारेज गरी फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि नयाँ बाटो खोल्नुपर्ने फोरमको धारणा छ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको उल्लेख गरिएको छ।
स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै आए पनि दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको फोरमले जनाएको छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवश्यक निर्णय र सहयोगका लागि संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ।


































