काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रमा उद्योग स्थापना भए पनि ती उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालमा अटोमोबाइल उद्योग स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियत दिने आश्वासन दिइए पनि उद्योग सञ्चालनमा आएपछि तिनको अवस्था र समस्याबारे सरकारले ध्यान नदिएको बताएका हुन्।
श्रेष्ठले अटोमोबाइल क्षेत्रमा भन्सार दर उच्च भएको भन्दै घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै आवश्यक सहुलियत उपलब्ध गराउने आश्वासन दिएको स्मरण गरे।
“हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईंहरूले यहीँ उद्योग खोल्नुस्, सहुलियत दिन्छौँ’ भन्नुभएको थियो। तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ ? सरकारले कहिल्यै चासो दिएको छैन,” उनले भने।
श्रेष्ठले सरकारले लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा चर्चा गरे पनि अहिले सञ्चालनमा रहेका तथा नयाँ खुलेका उद्योगले भोगिरहेका समस्याप्रति पर्याप्त ध्यान नदिएको आरोप लगाए।
उनले सरकारलाई प्राथमिकता निर्धारण गर्दा सावधानी अपनाउन आग्रह गर्दै “भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला” भन्ने उखान स्मरण गराए।
“२०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू खोल्ने, अरू उद्योगको समस्या के छ भन्ने ध्यान नदिने अवस्था छ। भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला भन्ने कुरामा सरकारलाई सचेत गराउन चाहन्छु,” श्रेष्ठले भने।
अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगी तथा व्यवसायीले भोगिरहेका समस्या पहिचान गरी समाधान गर्न सरकारसँग आग्रह गरे। निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नबनेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ।
उनले निजी क्षेत्रले ठूलो लगानी गरेर उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा राज्यले उनीहरूका समस्या सुन्ने र समाधान गर्ने वातावरण बनाउनुपर्ने बताए।
श्रेष्ठले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताए। बजारमा शिथिलता आउँदा समग्र माग बढ्न नसकेको र उद्योग तथा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भइरहेको उनले बताए।
उनका अनुसार कमजोर माग, सुस्त बजार र व्यवसाय सञ्चालनमा देखिएका कठिनाइका कारण व्यवसायीहरूको मनोबल निकै कमजोर बनेको छ।
“अहिले मुलुकको अर्थतन्त्र चुनौतीको घडीमा छ। हामी सबैले एउटा चुनौती भोगिरहेका छौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन। उद्योग व्यवसाय सञ्चालनमा पनि कठिन भइरहेको छ। व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर मनस्थितिको अवस्थामा छ,” उनले भने।
आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो अवस्था पहिलोपटक अनुभव गरेको समेत श्रेष्ठले बताए।
उनले सरकार र निजी क्षेत्रबीच प्रभावकारी संवाद तथा सहकार्य बढाउँदै उद्योग–व्यवसायका वास्तविक समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके मात्रै उद्योग विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा सुधार ल्याउन सकिनेछ।


































