काठमाडौं । नागढुंगा सुरुङमार्गमा सोमबारदेखि परीक्षण सञ्चालन सुरु भएको छ। पहिलो चरणमा ९ सिटसम्मका निजी सवारीसाधनलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो।
सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधन सञ्चालन गर्न दिइएको छ। सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छ।
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछ। सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरेपछि एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी रहेको सडक विभागले जनाएको छ।
त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार गर्ने र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने योजना विभागको छ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय घट्नुका साथै नागढुंगा क्षेत्रमा हुने नियमित ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ। यसबाट यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनसमेत सहज हुने विश्वास गरिएको छ।
करिब २४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग गत साउन ११ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए। उद्घाटनसँगै नेपाल सुरुङमार्गको नयाँ चरणमा प्रवेश गरेको बताइएको थियो।
यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। सरकारले ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित जापानको हाज्मा–आन्दो जेभीलाई निर्माणको जिम्मा दिएको थियो।
तर कोरोना महामारी, जग्गाको मुआब्जासम्बन्धी विवाद तथा खानेपानीलगायत विषयमा स्थानीयसँग देखिएको समस्याका कारण आयोजनाको म्याद पटक–पटक थपिएको थियो। म्याद चार पटक थपिएपछि करिब सात वर्षमा सुरुङमार्ग निर्माण सम्पन्न भएको हो।



































