बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया गरिमा चौधरीको हत्या भएपछि स्थानीयवासी तथा पीडित परिवारले दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सडकमा टायर बालेर यातायातसमेत ठप्प पारिएको छ।
गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। खोजीका क्रममा भदौ २ गते साँझ घर नजिकैको एक खाली घरको कोठामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि जबर्जस्ती करणीपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्। प्रहरीका अनुसार सुमनले बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेको र घटनामा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको छ। दुवैविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको छ।
स्थानीय तथा पीडित परिवारले घटनामा संलग्न सबैलाई हदैसम्मको कानुनी कारबाही, पीडित परिवारलाई न्याय तथा बालिकाको खोजीका क्रममा प्रहरीको भूमिकामाथि समेत छानबिन गर्न माग गरेका छन्। न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ।


































