धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाको तर्फबाट सहभागी हुने बाँकी मन्त्रीको टुंगो मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै लगाइने भएको छ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रयोजनका लागि भदौ २ गते प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको छ। मन्त्री चयनमा सत्तारुढ नेकपाभित्र सहमति जुट्न नसकेपछि पहिले विश्वासको मत लिने र त्यसपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरिएको हो।
सत्तारुढ दलभित्र साविकका तीन घटकलाई एक–एक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षी धेरै भएपछि नाम टुंग्याउन समस्या भएको छ। मन्त्री चयनमा असमझदारी बढ्दा विश्वासको मत प्रभावित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुख्यमन्त्री भट्टले सरकार विस्तारको प्रक्रिया केही समय पछि सारेका हुन्।
मुख्यमन्त्री भट्टले शपथ लिएकै दिन सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका थिए। अब नेकपाको भागमा परेका तीन मन्त्रीमध्ये साविकको नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना मन्त्री बनाउने सहमति रहेको बताइएको छ।
तर, कुन समूहबाट कसलाई मन्त्री बनाउने भन्ने टुंगो लाग्न सकेको छैन। त्यसमाथि कुन समूहले कुन मन्त्रालय लिने भन्ने विषयमा समेत सहमति जुटेको छैन। विशेषगरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबै समूहको दाबी भएपछि मन्त्री छनोट प्रक्रिया थप पेचिलो बनेको छ।
प्रदेशमा मन्त्रीका आकांक्षी धेरै हुनुका साथै विभिन्न समूहको व्यवस्थापन गर्नुपर्ने भएपछि केन्द्रले नै तत्काल मन्त्री चयन नगर्न निर्देशन दिएको बताइएको छ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सहइन्चार्ज लक्ष्मीराम आचार्यले केन्द्रबाटै तत्काल मन्त्री चयनको प्रक्रिया रोक्न भनिएको जानकारी दिए। उनका अनुसार मुख्यमन्त्रीलाई पहिले विश्वासको मत लिन र त्यसपछि मात्रै मन्त्रीको टुंगो लगाउन सुझाव दिइएको छ।
पार्टी स्रोतका अनुसार साविकको नेकपा माओवादीबाट मानबहादुर धामी, शिवसिंह ओली र ओमबिक्रम भाट मन्त्रीका प्रमुख आकांक्षी छन्। त्यस्तै, साविकको नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी र खुसीराम चौधरी मन्त्री बन्ने दौडमा छन्।
साविकको नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाही मन्त्रीका आकांक्षी छन्। रावल र शाही दुवैले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
यस्तै, नेकपाबाट दुई जना राज्यमन्त्री बनाउने तयारी भएको छ। साविकको नेकपा माओवादीबाट जानकी कुँवर र साविकको नागरिक उन्मुक्ति पार्टीबाट इन्दिरा गिरीलाई राज्यमन्त्री बनाउने लगभग निश्चित भएको स्रोतले जनाएको छ।
कुँवर, गिरी र मन्त्रीका आकांक्षी शिवसिंह ओली यसअघि प्रदेश सरकारमा मन्त्री बनेका छैनन्। नेकपाबाट प्रतिनिधित्व गर्ने अन्य प्रदेशसभा सदस्यहरू भने यसअघि नै मन्त्री बनिसकेका छन्।
नेकपा एमालेको समर्थनमा नेकपाका खगराज भट्ट साउन २९ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अब प्रदेशसभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरिएको छ।



































