काठमाडौं, ३१ साउन २०८३ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव बढिरहेका बेला ग्यास विक्रेता महासंघले सरकारलाई उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री रोक्दै डिलरमार्फत वितरण गर्न आग्रह गरेको छ। महासंघले प्रत्यक्ष बिक्रीका कारण उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको र नियमित वितरण प्रणाली झन् अस्तव्यस्त बनेको दाबी गरेको छ।
महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले डिलरलाई पन्छाएर उद्योग तथा सरकारी केन्द्रबाट ग्यास बिक्री गर्नु दीर्घकालीन समाधान नभएको बताए। उनका अनुसार नियमित विक्रेतामार्फत वितरण प्रणाली व्यवस्थित गरेमा उपभोक्ताले अहिले भोगिरहेको सास्ती घटाउन सकिन्छ।
महासंघले पछिल्ला चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांक सार्वजनिक गरेको छ। बजारमा आवश्यकता भन्दा बढी, करिब ८० लाख नयाँ सिलिन्डर थपिएको र नयाँ सिलिन्डर बिक्रीसमेत नरोकिएको महासंघको भनाइ छ।
महासंघले नयाँ सिलिन्डरको संख्या निरन्तर बढ्दै गएमा आगामी वर्षहरूमा समेत ग्यास अभावको समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ।
नेपाल आयल निगमले काठमाडौंमा विभिन्न स्थान तोकेर प्रत्यक्ष ग्यास बिक्री गरिरहेको छ। शनिबार मात्रै पाँच मुख्य केन्द्रसहित विभिन्न स्थानबाट ६ हजार ८०२ सिलिन्डर बिक्री गरिएको निगमको तथ्यांक छ।
तर महासंघले यस्तो बिक्रीलाई राहतभन्दा पनि अस्थायी उपाय भएको बताएको छ। विक्रेताहरूको वितरण सञ्जाल प्रयोग नगरी छुट्टाछुट्टै केन्द्रबाट ग्यास बेच्दा उपभोक्ताले लामो दूरी यात्रा गरेर लाइन बस्नुपर्ने अवस्था आएको महासंघको तर्क छ।
महासंघका अनुसार उद्योग तथा निगमले प्रत्यक्ष बिक्री गर्नुको सट्टा डिलरलाई पर्याप्त ग्यास उपलब्ध गराएर नियमित बजार प्रणालीबाटै बिक्री गर्नुपर्ने हुन्छ।
ग्यास उद्योग संघले भने बजारमा आपूर्तिको ठूलो समस्या नरहेको दाबी गरेको छ। उद्योगीहरूका अनुसार भारतका विभिन्न डिपोबाट ग्यास आयात नियमित भइरहेको छ र तोकिएको कोटाअनुसार आपूर्ति भइरहेको छ।
उद्योगीहरूले बजारमा अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चय गर्न खोज्दा तत्काल माग बढेको दाबी गरेका छन्। एउटै परिवारले एकैपटक दुई–तीनवटा सिलिन्डर भर्न खोज्दा बजारमा चाप परेको उनीहरूको भनाइ छ।
नेपाल आयल निगमले पनि ग्यासको वास्तविक आपूर्ति नरोकिएको दाबी गर्दै प्राविधिक तथा मनोवैज्ञानिक कारणले सिर्जित समस्या व्यवस्थापन गर्न प्रत्यक्ष बिक्री सुरु गरिएको जनाएको छ।
तर बजारमा वास्तविक अभाव रहेको भन्दै उपभोक्ता र अधिकारकर्मीबाट प्रश्न उठिरहेका छन्। यसअघि निगमले काठमाडौंका बिक्री केन्द्रबाट ग्यास बिक्री गर्दा ठूलो संख्यामा उपभोक्ता लाइनमा बसेका थिए र केही उपभोक्ता ग्यास नपाई फर्किएको रिपोर्टसमेत आएको छ।
यसअघि सार्वजनिक विवरणअनुसार नेपालमा ग्यास उद्योगहरूको दैनिक भर्ने क्षमता करिब १ लाख ६२ हजार सिलिन्डर भए पनि उद्योगहरूको कुल भण्डारण क्षमता सीमित छ। नेपाल आयल निगमसँग आफ्नै एलपी ग्यास भण्डारण सुविधा नहुनुले समेत आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ।
ग्यास अभावको कारणबारे विक्रेता, उद्योगी र सरकारका दाबी फरक–फरक देखिएका छन्। विक्रेता महासंघले कम आयात र वितरण प्रणालीको कमजोरीलाई मुख्य कारण मानेको छ भने उद्योगीले उपभोक्ताको सञ्चय र हल्लालाई कारण बताएका छन्। निगमले भने आपूर्ति नियमित रहेको तर मनोवैज्ञानिक त्रासका कारण समस्या देखिएको बताइरहेको छ।
यसबीच उपभोक्ताको तत्काल समस्या समाधानका लागि नियमित डिलरमार्फत पर्याप्त ग्यास उपलब्ध गराउने कि सरकारी तथा उद्योगस्तरबाट प्रत्यक्ष बिक्रीलाई निरन्तरता दिने भन्ने विषयमा विवाद कायम छ।



































