ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क अब क्यूआरमार्फत तिर्न सकिने

ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क अब क्यूआरमार्फत तिर्न सकिने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला यसको प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल थालिएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्झौता भएको हो।

सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य सवारीधनीले क्यूआर कोड स्क्यान गरी सहज रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन्।

डिजिटल भुक्तानी प्रणाली लागू भएपछि नगद बोकेर शुल्क तिर्नुपर्ने झन्झट हट्नुका साथै भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी हुने अपेक्षा गरिएको छ।

सम्झौतामा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन्।

सरकारले यसअघि नै सडक बोर्ड ऐन, २०५८ अन्तर्गत नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उपभोग शुल्क उठाउने निर्णय गरिसकेको छ। सोहीअनुसार राजपत्रमा प्रकाशित सूचनामार्फत विभिन्न वर्गका सवारीसाधनका लागि शुल्क दर निर्धारण गरिएको छ।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस तथा मिनी ट्रक/टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। त्यस्तै, बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ कायम गरिएको छ।

मल्टी एक्सल ट्रक, भारी सवारीसाधन तथा हेभी इक्विपमेन्टका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

महासंघका अध्यक्ष बाँनियाले डिजिटल भुक्तानी प्रणाली लागू भएपछि नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार क्यूआर र आरएफआईडी प्रविधिको प्रयोगले शुल्क संकलनलाई व्यवस्थित बनाउनुका साथै यातायात क्षेत्रमा डिजिटल कारोबार विस्तारमा समेत टेवा पुग्नेछ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनसँगै आधुनिक यातायात पूर्वाधार र डिजिटल सेवा प्रवाहको नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ।

Tokha