काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ।
यो अटो शोको १८औँ संस्करण हो। आयोजकका अनुसार प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन्।
अटो शोमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन्। त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्।
नाडाका अनुसार अटो शोका लागि स्टल माग गर्ने व्यवसायीको संख्या उल्लेख्य रहेको छ। प्रदर्शनीस्थलमा उपलब्ध स्थान सीमित रहेकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ।
स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले पछिल्लो समय सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ।
प्रदर्शनीमा नयाँ सवारीसाधन, अटोमोबाइलसम्बन्धी प्रविधि, पार्टपुर्जा तथा अन्य उत्पादन र सेवाबारे उपभोक्ताले प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकको भनाइ छ।



































