काठमाडौं । मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहित संरक्षण तथा सशक्तीकरणका लागि मुस्लिम आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
आयोगले मुस्लिम समुदायको हकहित र सशक्तीकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए–नभएको अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिने काममार्फत संविधानले सुनिश्चित गरेको समान अवसर, सामाजिक न्याय र सम्मानजनक सहभागिता कार्यान्वयनमा विशेष योगदान पुर्याएको राष्ट्रपति पौडेलले उल्लेख गरे।
राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै मुस्लिम समुदायको अधिकार संरक्षण र सशक्तीकरणका क्षेत्रमा थप योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरे।



































